गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने सबै नगरवासीले मौलाकाली केवलकार प्रयोग गर्दा सहुलियत पाउने भएका छन् । गत वैशाखबाट सञ्चालनमा आएको मौलाकाली केवलकारको भाडामा २५% सहुलियत सुविधा गैंडाकोट नगरपालिका वडा नम्बर १ र २ का वासिन्दालाई मात्रै दिईंदै आएको थियो । स्थानीयलाई दिइने छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने निर्णय गरिएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताउनुभयो । माघे संक्रन्तिको अवसर पारेर सोमबारदेखि यो सहुलियत सुविधा लागू गरिएको उहाँले जानकारी दिनुभयो ।
५ मिनेट यात्रामा पुगिने केवलकारको दुईतर्फी भाडादर ५५० रुपैयाँ छ । सहुलियत सुविधापछि अब सबै गैंडाकोटवासीले परिचय खुल्ने आधिकारिक कागजातको आधारमा ४१५ रुपैयाँमा टिकट लिन पाउनेछन् ।पूर्वीनवलपरासीको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेको स्टेशन मेनेजर पौडेलले जानकारी दिनुभयो ।
यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ गोन्डुला छन् । एउटा गोन्डुलामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ ।