असार १ ,चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताउनुभएको छ ।नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा औल्याउनु भएको हो ।
मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो ।‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ उहाँले भन्नुभयो,‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधै सकारात्मक छ ।’
चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाईन्सचोकमा बहुउदेश्य व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरु भइरहेका छन् ।मेयर दाहालले निर्वाचनको घोषणापत्रमा ‘मेड ईन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिक सम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यामी मञ्चलाई समावेश गराइने बताउनुभयो ।त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने गरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष निर्देश सेढाईले उद्यमशिलताले मात्र देश विकास सम्भव रहेको बताउनु भयो ।नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सुर्यभक्त अधिकारीले युवा उद्यमीहरुलाई विदेश जानबाट रोक्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै अधिकारीले युवा उद्यमीलाई स्वदेशमै रहन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा पूर्वअध्यक्ष निरञ्जन न्यौपाने, दाताराम घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।