एक वर्षअघि उपचारका लागि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं लगिएकी महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्ष वैशाखमा जुम्ला घर भएकी महिलालाई उपचारका लागि नेपालगञ्ज हुँदै काठमाडौं पुर्याएर बलात्कार गरेको आरोपमा जुम्लाको सिंजा गाउँपालिका वडा नं. २ बिष्टबाडाका ५५ वर्षीय अग्नीप्रसाद धमला शर्मालाई पक्राउ गरिएको हो।
पीडित महिलाले अघिल्लो वर्ष साउनमा प्रहरी बृत्त बालाजु काठमाडौंमा आफूलाई उपचारका लागि ल्याउने व्यक्ति शर्माले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन्। ‘प्रतिवादी फरार रहेकै अवस्थामा प्रहरी वृत्त बालाजुले मिसिल अदालतमा पेश गरेको थियो,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘अदालतले दिएको म्याद तामेल पूर्जी अभियुक्तको घर–ठेगानामा जाँदा फेला पारेर पक्राउ गरिएको हो।’ जिल्ला प्रहरी कार्यालयले मंगलबार शर्मालाई पक्राउ गरेर प्रहरी वृत्त बालाजु पठाएको छ।