चितवन : विभिन्न व्यवसायीक प्रतिष्ठानहरुले काठमाडौंमा संचालन गरेको निःशुल्क सार्वजनिक शौचालय अभियान चितवनमा पनि सुरु गरिएको छ ।
चितवनका व्यवसायीले आफ्नो होटलको अगाडि सार्बजनिक शौचालयको बोर्ड राखेर अभियानको सुरुवात गरेका छन् । होटल जमघटले नारायणगढ र भरतपुरको कन्द्रिय बसपार्क चोकस्थित आफ्नो होटलमा निःशुल्क शौचालयको सुरुवात गरेको छ ।
काठमाडौंका मेयर बालेन्द्र शाहको तस्विर सहित निःशुल्क शौचालयको बोर्ड होटल अगाडि राखिएको छ ।
होटलका संचालक कृष्ण भट्टले भरतपुरमा पनि सार्वजनिक शौचालयको अभाव रहेको भन्दै अभियानको सुरुवात गरेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,‘काठमाडौंमा सुरु भएको अभियानलाई साथ दिँदै चितवनमा पनि सुरु गरेका हौं,यहाँ पनि सार्वजनिक शौचालयको अभाव छ ।’ उहाँले हरेक व्यवसायी र संघसंस्थाले यो अभियानलाई संचालन गर्न सके चितवनमा पनि सार्वजनिक शौचालयको समस्या केही हदसम्म समाधान हुने बताउनुभयो ।