भरतपुर : भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको एक मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । मतदान केन्द्र ‘ग’मा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले मतदान गरेका हुन् ।
आफ्नो आमा र बुबाको मतदान आफुले गरिदिने भनेर भरतपुर–७ का वडा सदस्य राजेन्द्र तामाङले चिट चोरेर मतदान गरेका हुन् । आमा बुबा आफै हिँड्न सक्ने र देख्न सक्ने हुँदा पनि आफु जनप्रतिनिधि पनि भएको भन्दै उनले मतदान गरिदिएका हुन् ।
उनी आमा र बुबासँग मतदान केन्द्रमा पुगेका थिए । दर्ता कार्यमा खटिएका कर्मचारीले सुरुमा अरुले भोट हाल्न नमिल्ने बताएका थिए । त्यसपछि आफु जनप्रतिनिधि भएको भन्दै मतपत्र लिएर आमासँगै बुथतिर लागे । त्यहाँ पुगेर उनले मतपत्र भरे ।
उक्त मतपत्र उनकी आमाले मतपेटिका ल्याएर हालिन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरिन् । त्यसपछि उनले फेरि आफ्नो बुबाको मतपत्र भरिदिए ।
मतदान केन्द्र ‘ग’ की मतदान अधिकृतले भने चिट चोरेको भिडियो मिडियामा नल्याउन दबाब दिइन् । चिट चोर्न नमिल्ने भएरै आफुले चिट जफत गरेको बताउँदै उनले भनिन्, ‘मैले जफत गर्दिसके । मिडियामा नल्याउनु । मिडियाबाजी किन गर्नु ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारीले पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफै हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने बताए ।
‘हिँड्न सक्ने र देख्न सक्नेले सहयोगी राख्न पाउनुहुन्न’, उनले भने, ‘सहयोगी नै चाहिने भएमा पनि मतदान अधिकृतसँग जानुपर्छ ।’ चिट चोरेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने उनले बताए ।
गठबन्धनले चिट चोर्न सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केहि मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहिले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।