चितवन : भरतपुर महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार विजय सुवेदीले मेयरमा जितेपछि भारत भ्रमण गर्ने बताउनुभएको छ । भारतका केजरीवाल, नितिन गडकरीलाई भेटेर उहाँहरुबाट सिकेर आएर काम गर्ने बताउनुभएको छ । उहाँले महानगरमा ५ वर्षपछि कोहीपनि गरिबीको रेखामुनी नहुने जीकिर गर्नुभएको छ ।
गरिबीको रेखामुनी भएकालाई भत्ता दिने, फुसको छाना हुनेलाई जस्तापाता लगाइदिने, चुहिएका छानामा जस्तापाता लगाइदिने योजना सुनाउनुभयो । उहाँले ५ वर्षपछि कोही पनि घाममा बसेर आमसभा, भाषण सुन्न नपर्ने वातावरण बनाउने बताउनुभयो । “२५ हजार अट्न सक्ने शितल छहारी बनाइनेछ, कोही घाममा बसेर भाषण सुन्नुपर्ने छैन”, मेयर उम्मेदवार सुवेदीले भन्नुभयो, “यही वर्ष ठुला विरुवा रोपिनेछ, पिपल र स्वामिका मुनि आनन्दपूर्वक नेतृत्व र नेताहरुको भाषण सुन्न पाउनुहुनेछ ।”
सुवेदीले महानगरमा कोही पनि भोकै बस्नु नपर्ने बताउनुभयो । महानगरभित्र कोही पनि मागेर खानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । उहाँले माग्ने अवस्था भएकालाई महानगरले पाल्ने बताउनुभएको छ । उहाँले भरतपुरलाई नमुनायोग्य, अन्र्तराष्ट्रियस्तरको बनाइने योजना रहेको बताउनुभयो ।