नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयर पदका उम्मेदवार कांग्रेस नेता जगन्नाथ पौडेललाई टेलिफोन गरेका छन् । उनले मेयर उम्मेदवार बनेका पौडेललाई नेकपा एमालेमा प्रवेश गर्ने हो भने आफूहरु पनि सहयोग गर्न तयार रहेको प्रस्ताव गरेका छन् । यस्तै ओलीले केन्द्रीय राजनीतिमा विशेष ठाउँ दिने अफरसमेत गरेका छन् ।
एमाले अध्यक्ष ओलीले पौडेलसँग टेलिफोनमा भने, ‘नेपाली कांग्रेसले तपाईलाई कारबाही गरेको भन्ने सुनेँ । हामी तपाईलाई सहयोग गर्न तयार छौँ । हामी सँगै सहकार्य गरौँ । यदि तपाई हामीसँगै अघि बढ्न चाहनुहुन्छ भने तपाईलाई मेयर पदमा जिताउने जिम्मा हाम्रो भयो ।’
अरु ठाउँमा पनि पार्टीबाट उम्मेदवारी दिएकाहरुलाई नेकपा एमालेमा प्रवेश गराएर उनैलाई पार्टीको उम्मेदवार घोषणा गरिएको घटना सुनाउँदै ओलीले पौडेललाई पनि त्यहि अफर सुनाएका थिए ।
जवाफमा पौडेलले भने आफू अहिले नेपाली कांग्रेसको विचार छाडेर अन्त जाने कुरा नै नरहेको बताएका थिए । उनले अहिलेको यो अवस्थामा नेकपा एमालेसँग मिल्ने कुराको प्रस्ताव ल्याउनु नै गलत रहेको र आफू पार्टीभित्र नै संघर्ष गरेर अघि बढ्ने ओलीलाई जवाफ दिएका थिए ।
यसअघि दोलखाको बैतेश्वर गाउँपालिको उपाध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेस दोलखा जिल्लाका पूर्वउपसभापति छबी लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेसबाट गाउँपालिका अध्यक्षको टिकटका दाबेदार लामाले अन्तिममा टिकट नपाएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । एमालेले उनको स्वतन्त्र उम्मेदवारीलाई समर्थन जनाउँदै पार्टीबाट उम्मेदवारी दिएकी नविना लामालाई फिर्ता बोलाएको छ ।
कांग्रेस नेता लामा एमाले प्रवेश गरेपछि उनलाई एमालेले उपाध्यक्षमा सहयोग गर्ने र एमाले उम्मेदवारले मनोनयन फिर्ता लिने सहमति भएको एमाले दोलखा जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए । त्यसै अनुरुप पौडेललाई पनि ओलीले मनाउन खोजेका हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका थिए । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका थिए। तर अचानक उनी एमालेमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्रको गाउँपालिका इन्चार्ज समेत रहेका उम्मेदवार तेन्जिन छेसाङ तामाङले माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । माओवादी केन्द्रबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिनेगरी आफू एमालेमा प्रवेश गरेको उने प्रतिक्रिया दिएका छन् ।