काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको भनिए पनि जस्ताको तस्तै रहेको दावी गर्नुभएको छ ।
खोटाङ दिक्तेल स्थित माटिकोरे खेल मैदानमा उपस्थित हज्जारौको जनसागर अघि उहाँले एमाले फुटेको हैन थपिएको दावी गर्नुभयो ।
केही गलत पात्रहरुले पार्टी छोडेको तर अरु दलका असल व्यक्तिहरु एमालेमा थपिएका कारण कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गर्नुभयो ।
उहाँले खोटाङमा जस्तै कर्णालीमा समेत एमालेमा जनसागर नै उर्लिएको दावी गर्नुभएको थियो ।
नेकपा एमाले खोटाङले शनिबार आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘पहिले पनि एमाले फुट्यो तर जस्ताको तस्तै, अहिले पनि फुट्यो भनियो तर जस्ताको तस्तै’ ओलीले भन्नुभयो ‘बरु झन् ठूलो भएको छ, त्यसैले आत्तिनु पर्दैन ।’
आगामी स्थानीय निर्वाचनमा पनि एमालेकै जित हुने उहाँले दावी समेत गर्नुभयो ।
यस्तै, एमाले समृद्धिको पक्षमा उभिएकाले त्यसबाट आत्तिएर षड्यन्त्र गरेर परमादेशबाट हराइएको उहाँको जिकिर थियो ।
‘एमाले जहिल्यै समृद्धिको पक्षमा उभिन्छ, मुलुक र जनताको पक्षमा उभिन्छ । त्यसैदेखि आत्तिएर जनादेशबाट बनेको सरकारलाई परमादेशले हरायो’ उहाँले भन्नुभयो ।
खोटाङको कार्यक्रममा ओलीपत्नी राधिका शाक्य, एमाले उपाध्यक्ष रामबहादुर थापा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायत नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा हज्जारौ अरु दलबाट आएका व्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए ।