काठमाडौं : राप्रपाका पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले कमल थापाको पक्षमा जिल्लाका कोही पनि नेता नरहेको बताएका छन् ।मकवानपुरमा राप्रपा छोडेर कोहीपनि कमल थापाको पछि नलाग्ने अधिकारीले बताएका हुन् ।
राप्रपा मकवानपुरलाई कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित गर्ने विषय भ्रम फैलाउन हल्ला गरिएको राप्रपाका पूर्वकेन्द्रीय सदस्य अधिकारीले बताए । राप्रपा मकवानपुरलाई कमल थापाको पार्टीमा समाहित गर्ने तयारीबारे मंगलबार समाचार सम्प्रेक्षण भएपछि उनले त्यो भ्रम फैलाउन रचिएको हल्लामात्र भएको प्रतिक्रिया दिएका हुन् । राप्रपा मकवानपुरको अध्यक्ष रहेका गुरु सापकोटाले थापाको पार्टीमा समाहित हुनेबारे छलफल भइरहेको स्वीकार गरेका थिए ।
अधिकारीले थापाको पार्टीमा राप्रपाको जिल्ला कमिटीलाई समाहित गर्ने तयारी गरेको सुनेपनि उनीहरुको सपना भने पूरा नहुने जिकिर गरे । ‘थापाहरुको राप्रपा मकवानपुरलाई बिगार्ने सपना पूरा हुँदैन’ उनले भने । नेता नभएकै कारण थापाले मकवानपुरमा जिल्ला कमिटी गठन गर्न नसकेको उनको दाबी छ । ‘कमल थापाको पक्षमा नेता नै छैनन् । सबैजना मूलधारमै हुनुहुन्छ । थापाको पक्षमा नेता भएको भए जिल्ला कमिटी बनिसक्थ्यो, खोई अहिलेसम्म जिल्ला कमिटी बनेको छैन’, अधिकारीले भने ।
‘राप्रपाको सिंड्डो जिल्ला कमिटी एक ठाउँमा छ । उनीहरुले भ्रम फैलाएर हल्ला गरेपनि सत्य होइन । ‘थापाको साथमा एक–दुई जना होलान् । उनीहरु राप्रपाबाट राजीनामा दिएर जाँदा जिल्ला कमिटी तलमाथि हुँदैन’, अधिकारी भन्छन् ।
राप्रपाको जिल्ला अध्यक्ष जान खोजेपनि राजीनामा दिएर जान उनले सुझाए । राप्रपा मकवानपुरका सचिव सागर थापाले राप्रपा मकवानपुर राप्रपा नेपालमा समाहित हुने विषयमा सत्यता नरहेको बताए ।