प्रहरीले जवरजस्तीको सिकार हुदै गरेकी एक युवतीको घट्नास्थलवाटै उद्धार गरेको छ । शुक्रबार झिसमिसे साँझमा एक युवतीले आफुलाइ जवरजस्ती गरिरहेको नेपाल प्रहरीको १०० नम्वरमा फोन गरि जानकारी दिएपछि प्रहरीले युवतीको घट्नास्थलमै उद्धार गरेको हो ।
युवतीले घटनास्थल रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ स्थित खुल्ला खेतमा बताएकोले कन्ट्रोल रूमले तत्काल ईलाका प्रहरी कार्यालय लुम्बिनीमा घटनाबारे जानकारी गरायो।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्की कार्यालयमै थिए। घटनास्थल र घटनाबारे जानकारी पाएलगत्तै कार्कीकै कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ हिँड्यो।
आत्तिएको बेला युवतीले घटनास्थलको यकिन लोकेसन दिन नसकेकोले घटनास्थल फेला पार्न दुई(चार मिनेट बढी समय लाग्यो। यद्यपी जानकारी पाएको १० मिनेट भित्रै प्रहरी घटनास्थल पुगेको थियो।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ पिपरास्थित खुला खेतमा दुई जना युवकले युवतीमाथि जबर्जस्ती करणी गरिरहेका थिए। नजिकै प्रहरी टोली देखेपछि एक जना भागे। अर्कोलाई प्रहरीले रंगेहात पक्राउ गर्यो। युवतीलाई तत्कालै उद्धार गरी तत्काल अस्पताल पठायो।
उनीहरू थिए स्थानीय २० वर्षिय गणेश यादव र २६ वर्षिय सुवास यादव। प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गर्यो भने तत्काल भाग्न सफल भएको सुवासलाई सोही राती साढे ११ बजेतिर महजिदिया चोकबाट पक्राउ गरेको छ।
प्रहरी निरीक्षक कार्कीले युवती आफू अप्ठ्यारोमा पर्ने बित्तिकै खबर गरेकोले प्रहरी तत्काल घटनास्थलमा पुगेर उद्धार गर्न सकिएको बताए। ‘घटना हुँदै गर्दा हामी पुगिसकेका थियौं’, कार्कीले भने।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनामा संलग्न दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरिएको जानकारी दिए।
दुबैजनालाई रूपन्देही जिल्ला अदालतबाट जरूरी पक्राउ पूर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान सुरू गरिएको कार्कीले बताए।