गैँडाकोट, नवलपुर। चितवनको भरतपुर निवासी तथा हाल क्यानडामा बसोबास गर्दै आउनुभएका ध्रुव श्रेष्ठले गैँडाकोटमा सक्रिय सामाजिक संस्था ‘सबैको हात’ लाई वातावरण संरक्षण तथा सरसफाइ अभियान सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत संस्थाले सञ्चालन गर्दै आएका सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिहरू नियाल्दै आउनुभएका श्रेष्ठ संस्थाको अभियानबाट प्रभावित हुनुभएको थियो। सोही क्रममा उहाँले आफैँ संस्थासँग सम्पर्क गरी सरसफाइ अभियानमा सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको हो।
‘सहयोगी मनहरूको हातमा एउटा हात मेरो पनि थपिनुपर्छ’ भन्ने भावनासहित श्रेष्ठले संस्थालाई आवश्यक सरसफाइ सामग्रीसहितको किट उपलब्ध गराउनुभएको संस्थाले जनाएको छ। उक्त सहयोग सामग्री आज बिहान मौलाकालिका मन्दिरको फेदीमा आयोजित एक संक्षिप्त कार्यक्रममा हस्तान्तरण तथा ग्रहण गरिएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष सबिन कँडेलले विदेशमा रहेर पनि आफ्नो समाज र वातावरण संरक्षण अभियानप्रति चासो राख्दै विश्वासका साथ सहयोग गर्नुभएकोमा श्रेष्ठप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त सामग्रीको उचित सदुपयोग गर्दै संस्थाले सञ्चालन गर्दै आएका सरसफाइ तथा वातावरण संरक्षणका गतिविधिलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
परदेशमा रहेर पनि आफ्नो जन्मभूमि र समाजसँग जोडिँदै सामाजिक अभियानमा सहयोग पुर्याउनुभएको श्रेष्ठको योगदानले संस्थाका सदस्यहरूमा थप उत्साह र प्रेरणा मिलेको ‘सबैको हात’ ले जनाएको छ।

