गैंडाकोट । गैंडाकोट नगरपालिका–१८ आहालेंमा माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आयोजना हुने भएको छ । विगतका वर्षहरूमा सफलतापूर्वक सञ्चालन हुँदै आएको यस मेलालाई यस वर्ष थप आकर्षक र भव्य बनाइने आयोजकले जनाएको छ ।
योग स्टार युथ क्लब आहालेंको आयोजनामा हुन लागेको मेलामा वडा स्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछ । प्रतियोगितासँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी टिमहरूका लागि प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३५ हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै भेट्रान्सतर्फ प्रथम पुरस्कार १५ केजीको बोका र द्वितीय पुरस्कार २ ओटा भाले प्रदान गरिनेछ ।
भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले २०८२ माघ २८ गतेसम्म मात्र दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । पुरुषतर्फ दर्ता शुल्क ३,५०० रुपैयाँ र भेट्रान्सतर्फ १,००० रुपैयाँ तोकिएको छ ।
कार्यक्रम योग स्टार युथ क्लबकै आफ्नै भवन परिसरमा आयोजना हुने जनाइएको छ । खेलकुद संयोजक देवराज सुनारी मगरका अनुसार मेलाले स्थानीय खेलकुद प्रतिभाको पहिचान, आपसी सद्भाव तथा माघे सङ्क्रान्तिको मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रममा सहभागी भई सफल बनाउन स्थानीय खेलाडी, दर्शक तथा सर्वसाधारणलाई आयोजकले उपस्थितिका लागि अनुरोध गरेको छ ।
सम्पर्कका लागि:
📞 योग स्टार युथ क्लब – ९७६६३५२५९१
📞 खेल संयोजक देवराज सुनारी मगर – ९८४८२५६५२८




