चितवन,असोज ८– नारायणगढ–मुग्लिन सडकखण्डस्थित तुइन खोलामा खसेको पहिरोको रिपोटिङका लागि गएका चितवनका दुई पत्रकार घाइते भएका छन । प्रेस युनियन चितवनका अध्यक्ष तथा नेपाल टेलिभिजन र अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत पत्रकार अनिल ढकाल र पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य तथा जि न्युज अनलाइनमा कार्यरत पत्रकार सुदन पौडेल नारायणगढ–मुग्लिङ सडक खण्डको रिपोर्टिङका क्रममा सवारी दुर्घटनामा परि घाइते भएका हुन ।
मंगलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको अवस्थाको रिपोर्टिङका लागि जाँदै गर्दा उनिहरु भरतपुर महानगरपालिका– २९ को भतेरीमा दुर्घटनामा परेका थिए । पत्रकार ढकालले चलाएको बा.प्र.०६–००१ प ७४०५ नम्वरको मोटरसाइकल नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ७५३७ नम्वरको ट्रकसंग ठक्कर खाएको थियो ।
दुर्घटनामा घाइते भएका ढकालको टाउको र हातमा गम्भिर चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारीले जानकारी दिनुभयो । सोही दुर्घटनामा घाइते पौडेलको चितवन मेडिकल कलेजमा उपचार पश्चात मंगलबार नै डिस्चार्ज हुनुभएको छ । ढकाल नेपाल टेलिभिजनको निर्देशन अनुसार राती ८ बजेको समाचारमा प्रत्येक्ष प्रशारणका लागि त्यसतर्फ गएको अधिकारीले बताउनुभयो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठूलो पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड दुवै तर्फको आवतजावत बन्द भएको छ । पहिरो ठूलो र निरन्तर ढुङ्गा खसिरहेकोले पन्छाउने कार्यमा समय लाग्नेभन्दै बैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।