चितवन, असार २२- भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक-एक लाख रुपैयाँले सम्मानित गरेको हो।
अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनुभयो । हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या बढ्दै गएकोमा उहाँले खुसी व्यक्त गर्दै उहाँले जातीय विभेदलाई न्युनीकरण गर्न यो अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो । जातीय विभेदको केही अवशेषहरु अहिले पनि रहेको बताउँदै उहाँले सामुहिक प्रयासबाटै विभेद हटाउनुपर्नेमा जोड दिनुभयो । संविधानले जातीय विभेदलाई अपराधजन्य गतिविधिको रुपमा व्याख्या गरेको र २०६२/६३ सालपछि जातीय विभेद घट्दै क्रममा रहेको बताउनुभयो ।
यस्तै नगर उपप्रमुख चित्रसेन अधिकारीले चुनौती र संघर्षको बाबजुद सामाजिक रुपान्तरणको लागि अन्तरजातीय विवाहले ठुलो भूमिका खेलेको बताउनुभयो । अहिले पनि अन्तरजातीय विवाह गर्नुहुन्न भन्ने सोच पूर्ण रुपमा नहटेको बताउँदै उहाँले यसलाई क्रमशः चिर्दै जानुपर्ने औँल्याउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले २०२१ सालमा पहिलो पटक दलित समुदायलाई भेदभाव गर्ने विषय दण्डनीय भनेर कानुन निर्माण भएपनि ६ दशकसम्म पनि पुर्ण रुपमा नहटेको बताउनुभयो । उहाँले सामाजिक क्रान्तिमा भाग लिने जोडीलाई अप्ठ्यारो परिस्थितीमा पनि एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने, अशोक परियार र सुमिता रानामगर, भरतपुर–११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, भरतपुर–६ का सुमन परियार र सिमा लामा परियार, रुपेश भुजेल र अस्मिता विक, भरतपुर–२७ का अशोक परियार र आरती महतो, भरतपुर–२४ का किसान परियार र इन्दिरा तामाङ, भरतपुर–१६ का सरोज सुनार र सोममाया घले सुनार, भरतपुर–१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर–२३ का दिपेश सदाशंकर र अन्सु श्रेष्ठ, भरतपुर–१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर–२८ का अविशेक दर्जी र राधा शर्मा र भरतपुर–१२ का मनिष थापा र कुसुम विश्वकर्मा रहेका छन् ।
महानगरले यसअघि आव २०७७/७८ मा तीन जोडी, आव २०७८/७९ मा तीन जोडी, आव २०७९/८० मा सात जोडी र आव २०८०/८१ मा १० जोडीलाई सम्मान गरेको थियो ।