गैंडाकोट, नवलपुर — व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखरा, गण्डकी प्रदेशको आयोजनामा र गैंडाकोट नगरपालिकाको समन्वय तथा सञ्चालनमा तीन महिनाको बुटिक डिजाइन तालिम गैंडाकोट नगरपालिका–८ मा सञ्चालन भइरहेको छ।
नगरपालिका उप–प्रमुख सान्ति कोइरालाले प्रदेश सरकारसँग समन्वय गरी यो तालिम गैंडाकोटमा ल्याइएको बताउनुभयो। उहाँले अहिलेको समयअनुसार फेसन तथा डिजाइनको माग उच्च भएकोले यस्तो सिपले सहभागीहरूलाई व्यवसायिक बनाउन थप टेवा पुग्ने बताउनुभयो।
प्रशिक्षक तारा अधिकारीले बुटिक डिजाइन अहिलेको ट्रेन्डमा आधारित व्यवसाय भएको बताउँदै, यो सिपले सहभागीहरूलाई थप व्यवसायिक बन्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कच्चा पदार्थ सजिलै पाइने र बजारमा यसको माग दिन प्रतिदिन बढ्दो क्रममा रहेको बताउनुभयो।
तालिममा सहभागी प्रतिक्ष्या रानाभाटले यसअघि आफूले टेलरिङ व्यवसाय सञ्चालन गरिरहेको जनाइन्। उनले भनिन्, “यो तालिमले मलाई अझ व्यवस्थित र सृजनशील बन्न सहयोग गर्नेछ। अब म आफ्नै डिजाइनमा नयाँ क्रिएसन ल्याउन सक्छु।”
बढ्दो बेरोजगारीका बीच गैंडाकोटमा सञ्चालन गरिएको यस्तो तालिमले युवायुवतीहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको अवसर दिलाउने अपेक्षा गरिएको छ।