गैंडाकोट, असार १ – प्लास्टिक प्रदूषण नियन्त्रण र महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले गैंडाकोट नगरपालिका वडा नं. २ अन्तर्गत एस.पि.एम टोलस्थित रेडक्रस भवनमा १५ दिने वातावरणमैत्री कपडाको झोला निर्माण तालिम सुरु गरिएको छ।
नगर उप–प्रमुख शान्ति कोइरालाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रमका विशेष अतिथिमा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत झविन्द्र खनाल, वडा नं. २ का वडा अध्यक्ष प्रकाश सापकोटा तथा वडा नं. ५ की वडा सदस्य तथा सभाध्यक्ष उषा परियारको उपस्थिति रहेको थियो।
कार्यक्रममा गैंडाकोट वडा नं. ८ की वडा सदस्य सुशिला परियारले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन वडा नं. २ की वडा सदस्य सकिला परियारले गरेकी थिइन्।
दलित लक्षित बजेट अन्तर्गत सञ्चालित उक्त तालिमले प्लास्टिक झोलाको विकल्पका रूपमा वातावरणमैत्री झोला निर्माण सिकाइने छ। तालिमले विशेषगरी महिलाहरूलाई सीपमूलक दक्षता प्रदान गर्दै उनीहरूको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
गैंडाकोट नगरपालिकाले आगामी दिनमा पनि यस किसिमका व्यावसायिक सीपमूलक तालिमलाई प्राथमिकतामा राख्दै समावेशी तथा दिगो विकासमा टेवा पुर्याउने बताएको छ।