गैंडाकोट, – गैंडाकोट खेलकुद विकास समितिको आयोजनामा भोलि फाल्गुण ७ गते बिहान ८:०० बजेबाट जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता आपसी सद्भाव, सहकार्य, र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
प्रतियोगिता गैंडाकोट क्षेत्रीय रंगशाला,गैंडाकोट-३,४र८ नवलपरासी (ब.सु.पूर्व) सञ्चालन हुनेछ। प्रतियोगितामा कर्मचारी टोलीका कप्तान प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल रहनेछन् भने जनप्रतिनिधि टोलीका कप्तान गैंडाकोट-९ का वडाध्यक्ष धामनाथ सपकोटा रहनेछन्। दुबै टोली खेलको तयारीमा जुटिसकेका छन्, जसले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
गैंडाकोट खेलकुद विकास समिति का अनुसार, खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरण, राष्ट्रिय गरिमा, र सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। यस खेलले खेलाडीहरूबीच आत्मीयता बढाउने मात्र होइन, स्थानीय समुदायमा खेलकुदप्रति रुचि जगाउने विश्वास गरिएको छ।
समितिले खेलप्रेमी तथा स्थानीय बासिन्दालाई खेल अवलोकन गर्न आग्रह गरेको छ, जसले प्रतिस्पर्धीहरूलाई थप ऊर्जा प्रदान गर्नेछ।