नवलपुर, ६ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाली काँग्रेस गैँडाकोट नगर कार्यसमितिको आयोजनामा फागुन ८ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेताले रु एक लाख पुरस्कार पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा उपविजेता हुने समूहले रु ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार दिइने नगर सभापति बद्रि सापकोटाले बताउनुभयो । त्यस्तै विधागतरुपमा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोल रक्षक र उत्कृष्ट डेफेन्सलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने भन्दै सापकोटाले हरेक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु एक हजार पुरस्कार प्रदान गरिने बताउनुभयो । प्रतियोगितामा नवलपुरमा रहेका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयीत्रिवेणी, हुप्सेकोट, बौदिकाली र बुलिङटार गाउँपालिकाबाट आठ वटा टिम सहभागी हुने सापकोटाले बताउनुभयो ।
ग्रामीण स्तरका फुटबल समूहलाई राष्ट्रिय टिमको रुपमा विकास गर्ने, स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धि गराउने, युवाहरुलाई खेलकुदसँग जोड्दै रोजगारीको सिर्जना गर्नु प्रतियोगिताको उद्देश्य भएको सापकोटाको भनाइ छ । पछिल्लो समय युवाहरु दुव्र्यसनीमा फसिरहेको सन्दर्भमा खेलकुदका माध्यमबाट युवालाई दुव्र्यसनबाट मुक्त पार्न सकिन्छ भन्ने दृष्टिकोणले समेत प्रतियोगिता आयोजना गरिएको नगर सभापति सापकोटाको भनाइ छ । यस प्रतियोगिताले खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन विकासका साथै समृद्ध गैँडाकोट निर्माणका लागि समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।
गैँडाकोटको वडा नम्बर ३, ४ र ८ मा पर्ने गैँडाकोट क्षेत्रीय रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन यसै क्षेत्रका सङ्घीय सांसद एवम् नेपाली काँग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले गर्ने प्रतियोगिता संयोजक रमेश तिवारीले जानकारी दिनुभयो । प्रतियोगितामा हरेक दिन एउटा खेल हुने भन्दै तिवारीले प्रतियोगिताको समापन फागुन १४ गते गरिने बताउनुभयो । यसवर्षदेखि सुरु गरिएको प्रतियोगिता आगामी वर्षदेखि नियमित रुपमा सञ्चालन गरिने भन्दै तिवारीले लगातार तीन वर्षसम्म प्रतियोगिता जित्ने पालिकाले रनिङ शिल्ड प्राप्त गर्ने बताउनुभयो ।
नवलपुरको गैँडाकोटमा वीपी स्मृति कप फुटबल हुँदै
नवलपुरको गैँडाकोटमा वीपी स्मृति कप फुटबल हुँदै

तपाईको प्रतिक्रिया