नवलपुर, २२ असोज । नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर ११ मा कृषि प्रयोजनका लागि प्रयोग गरिने ट्रयाक्टरको शुल्क निर्धारण गरिएको छ । आज गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदी र गैँडाकोट कृषि शाखाका प्रमुख राजुप्रसाद शर्माको रोहबरमा बसेको बैठकले ट्रयाक्टरको शुल्क निर्धारण गरेको हो ।
वडामा रहेको मुकुन्दसेन कृषक समूह र ट्रयाक्टर व्यवसायी संघबीच भएको बैठकले खेत जोत्न, धान, गहुँ, तोरीलगायतमा हाइरो, रोटाभेटोर र थ्रेसर लगाउँदा, धान, पराल र मल ढुवानी गर्दा लाग्ने शुल्क निर्धारण गरिएको हो । आज बसेको बैठकले निर्धारण गरेको शुल्कअनुसार वडाभित्र कोल्टीले जोतेको तथा ब्लेड लगाएको रु ३० प्रतिमिनेट एवम् हाइरो, रोटाभेटोर र थ्रेसर लगाएको रु ३५ प्रतिमिनेट शुल्क तोकिएको छ ।
त्यसैगरी, वडाभित्र धान, पराल तथा गोबर मल ढुवानी गर्दा दुरीको आधारमा १.५ किलोमिटरसम्म रु ८०० एवम् सो भन्दा बढी दुरी भएमा रु एक हजार शुल्क तोकिएको छ । यद्यपि श्रमिकबाट लोड गराएर ३० मिनेटसम्म ट्रयाक्टर रोकिएको अवस्थामा रु २०० एवम् सो भन्दा बढी रोकिएमा रु ५०० थप शुल्क तोकिएको छ ।
ट्रयाक्टर व्यवसायी व्यस्त भएमा व्यवसायीले अन्य ठाउँबाट ट्रयाक्टर ल्याएर सोही शुल्कमा काम गराउनुपर्नेसमेत बैठकले निर्णय गरेको छ । आजदेखि लागू हुने गरी तोकिएको शुल्क डिजलको मूल्य प्रतिलिटर रु १३५ देखि रु १६५ हुँदासम्म कायम हुने भन्दै त्यसभन्दा थपघट भएमा दुवै पक्षको बैठक बसी मूल्य समायोजना गरिने निर्णय भएको छ ।
सहमतिमा कृषकको तर्फबाट मुकुन्दसेन कृषक समूहका अध्यक्ष निर्मल न्यौपाने एवम् व्यवसायीको तर्फबाट नवलपुर ट्रयाक्टर व्यवसायी समितिका सदस्य भीमप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् ।