चितवन, पुस २५- भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो चरणमा एक अर्ब रुपैयाँको काम हुने भएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको हो ।
यसअघि पहिलो चरणमा ७० करोड रुपैयाँ खर्चिएर रंगशालाको काम अगाडि बढाउने भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकार बीच सहमति भएको थियो । ७० करोड मध्ये ७० प्रतिशत लगानी प्रदेश सरकारको र ३० प्रतिशत लगानी भरतपुर महानगरको हुने भनिएको थियो ।
लागत इस्टिमेट बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमति अनुसार बजेत सुनिश्चितता गर्न प्रदेश सरकारलाई प्रस्ताव पठाइएको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
‘पहिलो चरणमा एक अर्बको काम गर्नका लागि स्रोत सुनिश्चितता गर्न भनेर बागमती प्रदेश सरकारलाई प्रस्ताव पठाएका छौँ’, उनले भनिन्, ‘लागत तयार गर्दा पहिलो चरणमा एक अर्बको काम गर्नैपर्ने देखिएकाले ७० करोड प्रदेशलाई व्यवस्था गर्न भनेका छौँ । ३० करोड हामी व्यहोर्छाैँ ।’
अब स्रोत सुनिश्चितताको लागि बागमती प्रदेशको मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने छ । पहिलो चरणमा खेल मैदान र प्याराफिट लगायतका काम सकेर खेल खेल्न मिल्ने बनाइने उनले बताइन् । प्रदेशले स्रोत सुनिश्चित गरेपछि महानगरले टेण्डर आह्वान गर्ने उनले जानकारी दिइन् ।