चितवन : पूर्वी चितवनको राप्तिमा विभिन्न संस्थाहरुको सहयोगमा स्कुले बालबालिकाहरुको मुटु परिक्षण गरिएको छ ।
नेपाल हार्ट फाउन्डेसन, चितवन मुटु अस्पताल र लायन्स क्लब अफ चितवन मुटुको संयुक्त आयोजनामा राप्ती ७ का स्कुले बालबालिकाहरुको मुटु परिक्षण गरिएको हो ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा शंकर लौडारिको नेतृत्वमा संचालित उक्त शिविरमा १२ जना स्वास्थ्यकर्मीहरुको सहयोगमा इसिजी र इको कार्डियोग्राफी सेवा सहित बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
परिक्षण पश्चात स्वास्थ्यमा खराबी देखिएका बालबालिकाहरुलाई निशुल्क औषधि बितरणको ब्यबस्था गरि अलि गम्भीर किसिमका समस्या भएकाहरुलाई चितवन मुटु अस्पतालमा निशुल्क उपचारको ब्यबस्था मिलाइएको उक्त शिविरका ब्यबस्थापक लोकराज भुषालले जानकारी दिए ।
स्थानिय समाजसेवी एवंम् एमालेका युवा नेता नागेन्द्र अधिकारीको विशेष पहलमा संचालित उक्त शिविरमा राप्ती ७ मा रहेको दिब्यज्योती मातृ सहयोग, शिरकोट आधारभुत विद्यालय र शिरकोट निम्न माद्ययमिक विद्यालयका ४३७ जना बालबालिकाहरुको मुटु परिक्षण गरिएको थियो ।
यस अघि रत्ननगरको झुवानी मा.वि, बछ्यौली मा.वि, मालपुर मा.वि तथा बद्रयानी मा.वि मा करिब १६ सय जना भन्दा बढिको मुटु परिक्षण गरिएको आयोजकको दाबी छ ।
त्यस्तै आगामी दिनमा बज्रहट्टि र शक्तिखोरका विद्यालयमा पनि यस्तै शिविर सन्चालन गरिने अधिकारीले जानकारी दिए ।