भरतपुर : भरतपुरमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको ज्यान गएको छ । एक जना खसेपछि बचाउन गएका अर्का एक युवाको पनि मृत्यु भएको हो ।
(बुधबार) साँझ ६:३० बजे भरतपुर महानगरपालिका १९ तमुटोलस्थित रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका ९ का २४ वर्षीय छतिराम थारु अचानक चिप्लिएर खसेका थिए ।
थारु चिप्लिएर खसेपछि बचाउन सँगै काम गर्ने सोही स्थानका सालो पर्ने २३ वर्षीय राम चौधरी सेफ्टी ट्याङ्की भित्र पसेका थिए । निस्किन नसकेपछि दुबै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घटना बारे थाहा पाउना साथ घटनास्थलमा पुगेको नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले ट्याङ्कीबाट शव निकालेको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानाकारी दिए ।
दुबै शव पोष्टमार्टमको लागी भरतपुर अस्पतालमा राखिएको डिएसपी अधिकारीले बताए ।