भरतपुर : भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ ।
आज (मंगलबार) सम्पन्न मतदानबाट कार्यपालिकाको आठ सदस्यमा नेकपा एमालेलाई पराजित गर्दै सत्ता गठबन्धनको प्यानल विजयी भएका हुन्। कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना निर्वाचित भएका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट दुई र एकीकृत समाजवादीबाट एक सदस्य निर्वाचित भएका छन् ।
कार्यपालिकाको महिला सदस्यमा कांग्रेसबाट सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोख्रेल र नर्वदा सापकोटा निर्वाचित भएका छन् । अधिकारीले ९१ मत प्राप्त गर्दा परियार, पोख्रेल र सापकोटाले क्रमश: ८९, ८७ र ८६ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा नै माओवादी केन्द्रबाट बिना नेपाली निर्वाचित भईन् । उनले ८७ मत प्राप्त गरिन् ।
उता दलित तथा अलसंख्यकमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक-एक जना निर्वाचित भएका छन् । कांग्रेसबाट गोपाल दराई विजयी हुँदा एकीकृत समाजवादीबाट कोपिला उपरकोटी र माओवादी केन्द्रबाट बिष्णुबहादुर भुजेल विजयी भए । दराईले सर्वाधिक ९७ मत प्राप्त गर्दा उपरकोटी र भुजेलले क्रमश: ९२ र ८६ मत प्राप्त गरे ।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भरतपुरमा एक सय ४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । उनीहरुले नै कार्यपालिका सदस्यका लागि मतदान गरेका हुन् । कांग्रेसका ७७, एमालेका ५०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार तथा एक स्वतन्त्र मतदाता थिए ।