गुल्मीको धुर्कोट गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
त्यहाँ एमाले-माओवादी गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्। अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेलले ६०८९ मत ल्याएर निर्वाचित भए।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४२६१ मत पाए। उपाध्यक्षमा एमालेकी सीता गिरी निर्वाचित भइन्। उनले ६००१ मत पाइन्। उनकी निकट प्रतिस्पर्धी एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३४८८ मत पाए।
तनहुँको आबुखैरेनी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका शुक्र चुमान ३ हजार ९ सय ४० मत ल्याउँदै गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २ सय ३० मत ल्याए। एमालेका ऋषि केसीले भने १ हजार ८ सय ४ मत ल्याए।
उपप्रमुखमा माओवादीकै दुर्गा अर्याल २ हजार ८ सय ४८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै पवित्रा गौलीले २ हजार १ सय ८३ मत ल्याइन्। एमालेकी मीना अधिकारीले २ हजार १ सय २७ मत ल्याइन्।
यस्तै खोटाङको जन्ते ढुंगा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीकी अरुणादेवी राईले निवर्तमान अध्यक्ष समेत रहेका एमालेका शंखरबहादुर राईलाई पराजित गरेकी हुन्। राई पहिलो गाउँपालिका अध्यक्ष बनेकी छिन्।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का निर्वाचित भएका छन्। एमालेकी बिमला राईलाई पराजित गर्दै खड्का निर्वाचित भएका छन्।
वडा नं १ मा माओवादीका केदारमान राई, वडा नं २ मा माओवादीका मस्तबहादुर राई, ३ मा कांग्रेसका तारामान राई, ४ मा एमालेका विदुरमान राई र ६ नं वडाको अध्यक्षमा कांग्रेसका सागर राई निर्वाचित भएका छन्।