भरतपुर : नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्बर–१२ ले चुनावी प्रचारप्रसार स्वरुप घरदैलोलाई तीव्रता दिएको छ ।
सूर्य ध्वजाबाहक वडाध्यक्षका उमेदवार लेखराज पन्त सहित सदस्यका उम्मेद्वारहरु व्यापक जनसहभागिताका साथ घरदैलोमा जुटेका छन् ।
सो क्रममा सहयोगी टोल र सुनगाभा टोलमा मतदाताका घरघरमा पुगी उम्मेद्वारहरुले मत मागेका छन् । आफू वडावासीको सेवक बन्ने उद्देश्य बोकेर चुनावी मैदानमा उत्रिएको वडाध्यक्ष उम्मेदवार पन्तले बताउनुभयो ।
सामाजिक कार्यका सबै अनुभव र वडाको समुन्नत विकासको एजेन्डा नै आफूहरुको जीत हासिल गर्ने मुख्य आधार रहेको अध्यक्ष उम्मेदवार पन्तले बताउनुभयो ।
घरदैलोका क्रममा जनताले एमाले उम्मेद्वारहरुप्रति उल्लेख्य सद्भाव व्यक्त गरेको पाइएको एमाले वडा नम्वर–१२ का ईन्चार्ज तथा वडा निर्वाचन परिचालन समितिका संयोजक शेषमणि नेपालले बताउनुभयो । जनताको सद्भावनाले उम्मेद्वारहरु उत्साहित बनेका छन् ।
घरदैलो कार्यक्रम मार्फत उम्मेद्वारहरु सबै वडावासी मतदाता माझ पुग्ने एमाले वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपानेले बताउनुभयो ।
भरतपुर–१२ मा एमाले र राप्रपाबीच सहकार्य समेत छ ।
सोही बमोजिम वडा अध्यक्ष र तीन जना सदस्य एमालेबाट र एक जना सदस्य राप्रपाबाट उम्मेद्वार छन् ।
चुनावी सहकार्य भएका कारण सामूहिक ढंगबाट नै घरदैलो कार्यक्रम चलिरहेको एमाले वडा कमिटी सचिव शोभा पण्डितले जानकारी दिनुभयो ।