चितवन : चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ का एक पुरुष आइतवार बिहान ८ बजेतिर घाँस काट्न जाने क्रममा बाघकोे आक्रमणमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा नगरपालिका–१३ वैरिया वस्ने ६५ वर्षीय नारायण दाहाल रहेका छन् ।
कार्यालयका अनुसार घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा सो दुर्घटना भएको थियो ।
आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ । शव बिहान १० बजे भेटिएको हो ।