क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक सुभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने मुख्य महिला अर्ना किमाईले प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । २४ बर्षकी किमाईले आइतबार राती आत्मसर्मण गरेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई डकैती, आक्रमण तथा हातपात, षड्यन्त्र र स्वास्थ्य तथा सुरक्षा नियमको उल्लंघन गरेको अभियोगमा जेलमा राखिएको छ । आइतबार बेलुका ७ बजे सान फ्रान्सिस्कोमा रहेको महिला जेलमा उनले आत्मसमर्पण गरेकी थिइन् ।
अर्ना किमाईबिरुद्ध गाडी ठोक्काएर एकजना महिलालाई घाइते बनाएको आरोपमा समेत मुद्दा दायर भएको छ । सन् २०१९ को फेबु्रअरीमा किमाईले गाडी ठोक्काएर एकजना महिलालाई सख्त घाइते बनाएर भागेको मुद्दा दायर गरिएको हो ।
अर्ना किमाईले असुरक्षितरुपमा गाडी मोडेर अर्को गाडीलाई ठक्कर दिंदा उक्त गाडीमा रहेकी महिला सख्त घाइते भएकी थिइन् । अदालतमा दायर गरिएको मुद्दामा गाडीको क्षतिपूर्ति, उपचार खर्च र आम्दानी गुमेको क्षतिपूर्ति दावी गरिएको छ ।
ती महिलाले हाइवेमा १ सय २२ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएको एउटा अर्को भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियोमा गैरकानूनी रुपमा हाइवेमा बढी स्पीडमा गाडी कुदाएको देख्न सकिन्छ ।
ती महिला विगतमा पनि कम्तीमा तीनपटकसम्म पक्राउ परेको खुलासा भएको छ । उनी सन् २०१५ मा एकपटक र २०२० मा दुईपटक पक्राउ परेको रेकर्डमा देखिएको छ ।