लोक सेवाले माग्यो ५ सय १३ जना अधिकृत, पुस १४ सम्म दरखास्त दिन पाइने
काठमाडौं : लोक सेवा आयोगले रा.प तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो ।
आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ । जसमध्ये १५३ जना ज्येष्ठता र बाँकी खुला रहेको छ ।
दरखास्त दिने अन्तिम मिति पुस १४ सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।
परीक्षा केन्द्र भने प्रथम चरणका लागि आयोगका सबै कार्यालयहरू तोकिएको छ । द्वितीय चरणका लागि आयोगका धनकुटा, काठमाडौं, पोखरा, जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिएको छ ।