काठमाण्डाै – सेनाको बम डिस्पोजल टोलीले काठमाण्डौको ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज गरेको छ ।
बिहान दुई वटा जेब्रा झोलामा भेटिएको शङ्कास्पद वस्तु केहीबेर अघि सेनाको टोलीले डिस्पोज गरेको हो । बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए ।
शङ्कास्पद वस्तु प्रेसरकुकर बम भएको आशङ्का गरिए पनि सार्वजनिक गरिएको छैन ।
शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै बिहानदेखि रोकिएका गाडी अहिले चल्न थालेका छन् । बिहान यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको थिएन ।
लामो समयसम्म गाडी रोकिएकाले कलङ्की, कालीमाटी, थानकोट लगायतका क्षेत्रमा गाडी चापमा चलिरहेका छन् ।
काठमाण्डौसँगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्। बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडा पारिएको थियो ।
शङ्कास्पद वस्तु कसले राख्याे भन्नेबारे भने खुलेकाे छैन ।



